- शनिबार-पौष-६-२०८१|Saturday-December-2024
मनोविमर्शकर्ताहरुको कोशी प्रदेश स्तरीय सञ्जाल गठन भएको छ । सञ्जाल मनोविमर्शकर्ता रुद्र थेवेको संयोजकत्वमा गठन भएको हो । सञ्जाल गठन तथा मनोसामाजिक मनोविमर्शको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम जुलाई २५ र २६मा विराटनगरमा आयोजना गरिएको थियो ।
कार्यक्रममा सहभागीहरुले मनोविमर्शको व्यापक सचेतना, लामो समयदेखि क्रियाशील रहेका मनोविमर्शकर्ताहरुको प्रभावकारी व्यवस्थापन हुने गरी नीति निर्माण गर्न र उनीहरुका आवश्यकताहरुलाई सम्बोधन गर्नका लागि मनोविमर्शकर्ताहरुको साझा थलोको आवश्यकता परेकोले प्रदेशस्तरमा सञ्जाल निर्माण भएको बताए । यसका साथै मनोविमर्शलाई सरकारले अवनत्व लिनुपर्ने र सेवाको विस्तार प्राथमिकतामा पर्नु पर्ने बताए ।
यसैसन्दर्भमा मनोविमर्शकर्ताहरुलाई मनोविमर्शको अवस्था र सञ्जालको आवश्यकताका बारेमा नागरिक शान्ति सेवा जिआईजेडका अन्तराष्टिय शान्ति सल्लाहकारद्वय क्यारोलिना बुज्को र मिरोनेल डि वाईल्डले अभिमुखीकरण गर्नु भएको थियो ।
यसका साथै प्रदेश सरकार र मनोविमर्शकर्ता बीच अन्तरक्रिया सञ्जाल गठनको जानकारी र विद्यमान सवालहरुका बारेमा अन्तरक्रिया आयोजना भयो । प्रदेश सरकारका स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालयका प्रतिनिधीहरुको उपस्थितिमा सम्पन्न अन्तरक्रियामा मनोविमर्शकर्ताहरुको सञ्जालसँग प्रदेश सरकारले समन्वय र साझेदारी अगाडी बढाउने साथै मनोविमर्शलाई प्राथमिकता दिई योजनामा राख्ने प्रदेश सरकारका मन्त्रालयहरुको तर्फवाट प्रतिवद्धता व्यक्त गरिएको थियो । कार्यक्रम नागरिक शान्तिसेवा जिआईजेडको सहयोग , मानवअधिकार मञ्च नेपाल इलामको स्थानीय तहमा न्यायिक संरचनाहरुको सवलीकरण र मानवअधिकारको संरक्षण परियोजना अन्तरगत आयोजना गरिएको थियो ।