ताप्लेजुङ, वैशाख १४, २०८३
समाजमा अझै पनि जरो गाडेर बसेको जातीय विभेद र छुवाछुतको बदलिँदो स्वरुपले दलित समुदाय झनै पीडित बन्दै गइरहेको निष्कर्ष निकालेका छन्। दलित समुदायले भोग्दै आएका प्रमुख समस्या र चुनौतीहरू पहिचान गरी रणनीतिक पैरवी र सामाजिक न्यायका विषयमा सघन छलफल गर्ने उद्देश्यले ताप्लेजुङमा आज एक विशेष कार्यशाला सम्पन्न भएको छ। मानव अधिकार मञ्च नेपालका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माको अध्यक्षता तथा जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा प्रमूख जिल्ला अधिकारी शिवराज सेढाइँ, प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, श्रम संस्कृति पार्टी र राप्रपा लगायतका दलका जिल्ला नेतृत्वको उपस्थिति थियो।
.jpeg)
यसैगरि जिल्ला बार एशोसिएसन, गैसस महासंघ, उद्योग वाणिज्य महासंघ र नेपाल पत्रकार महासंघका प्रतिनिधिहरूले जातीय छुवाछुत दण्डनीय अपराध भएको र यसको अन्त्यका लागि मौजुदा कानूनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। छलफलका क्रममा उनीहरूले कानुनको प्रभावकारी कार्यान्वयनका लागि राज्यका जिम्मेवार निकायमा रहेका व्यक्तिहरूबिचको इच्छाशक्ति, समन्वय र सहकार्य महत्वपूर्ण राखेका थिए।

भक्त बहादुर थामीले सहजीकरण गर्नुभएको उक्त कार्यक्रम मिजेरियो जर्मनीको सहयोग, मानव अधिकार मञ्च नेपालको आयोजना तथा जिल्ला समन्वय समिति ताप्लेजुङसँगको समन्वयमा सञ्चालित कार्यक्रम"मर्यादा सुनिश्चितताका लागि ऐक्यवद्धता: स्थानीय तहमा नीतिगत सचेतना मार्फत जातीय विभेद विरुद्धको सामूहिक प्रयास" नामक परियोजना अन्तर्गत सम्पन्न भएको हो ।