शुक्रबार-श्रावण-१५-२०८३|Friday-July-2026

राष्ट्रिय दलित आयोग र मानव अधिकार मञ्च नेपालबीच सहकार्य र समन्वय बैठक सम्पन्न

ललितपुर, कुपन्डोल, ३० वैशाख, २०८३

राष्ट्रिय दलित आयोग र मानव अधिकार मञ्च नेपालबीच जातीय विभेद र दलित अधिकारका सवालमा सहकार्य र समन्वय गर्ने विषयमा महत्वपूर्ण बैठक आज सम्पन्न भएको छ। कुपन्डोलस्थित आयोगको कार्यालयमा भएको उक्त बैठकमा दुवै निकायबीच आपसी समन्वय र आगामी कार्यदिशाबारे गहन छलफल भएको हो।

आयोगका माननीय अध्यक्ष देवराज विश्वाकर्माको अध्यक्षतामा भएको सो बैठकमा आयोगका सदस्यहरु माननीय मीनादेवी सोव, माननीय मेहेले पार्की, माननीय सुन्दर पुर्कुटी, आयोगका सचिव झनक कुमार खत्री र विज्ञ सदस्य हिरा विश्वाकर्माको सहभागिता रहेको थियो।

कार्यक्रममा मानव अधिकार मञ्च नेपालको तर्फबाट सिनियर कन्सल्टेन्ट कर्ण बहादुर नेपाली, भक्त बहादुर थामी मन कुमार बराइलीले मञ्चको संस्थागत परिचय, जातीय विभेद विरुद्धको अभियानमा मञ्चले खेल्दै आएको भूमिका र हाल सञ्चालनमा रहेका गतिविधिबारे प्रकाश पार्नुभएको थियो। विशेषगरी मिजेरियो जर्मनी (Misereor Germany) को सहयोगमा हाल सञ्चालन भइरहेको "सम्मान सुनिश्चितताको लागि ऐक्यवद्धता" (Solidarity for Dignity) परियोजनाको उद्देश्य र यसले दलित समुदायको अधिकारका लागि गर्ने पैरवीका विषयमा विस्तृत जानकारी गराइएको थियो।

बैठकमा बोल्दै आयोगका अध्यक्ष माननीय देवराज विश्वाकर्माले नागरिक समाजका संस्थाहरुसँगको सहकार्यले आयोगलाई भुइँतहका समस्या बुझ्न र प्रभावकारी कदम चाल्न सहयोग पुग्ने बताउनुभयो। उहाँले मञ्चले गरिरहेका कार्यको प्रशंसा गर्दै आगामी दिनमा आयोग र मञ्चबीच नीतिगत र कार्यक्रमगत तहमा सहकार्य हुने विश्वास दिलाउनुभयो।

अन्तरक्रियाका क्रममा जातीय विभेदका घटनाहरुको उजुरी प्रक्रिया, नीतिगत सवाल र सामाजिक जागरणका क्षेत्रमा आयोग र मञ्चले कसरी मिलेर काम गर्न सक्छन् भन्ने विषयमा महत्वपूर्ण निष्कर्ष निकालिएको थियो। मञ्चले आयोगका तर्फबाट प्राप्त सकारात्मक प्रतिक्रिया र प्रतिबद्धताका लागि धन्यवाद ज्ञापन गरेको छ।