मंगलबार-असोज-२०-२०८३|Tuesday-October-2026

Updates

   

जातीय छुवाछुतको विषयमा गम्भीर आत्मबोध र नीतिगत प्रतिबद्धता आवश्यक

फिदिम (पाँचथर), २१ भाद्र २०८३

समाजमा जरा गाडेर रहेको जातीय विभेद तथा छुवाछूतलाई समूल अन्त्य गर्न केवल सतही प्रयास नभई बहुसरोकारवालाहरूले गम्भीर आत्मबोध र नीतिगत प्रतिबद्धता गर्नुपर्ने निष्कर्षसहित पाँचथरमा १० बुँदे ऐतिहासिक 'पाँचथर घोषणापत्र–२०८३' जारी गरिएको छ।

मानव अधिकार मञ्च नेपाल (HURF) इलामको आयोजना, मिजेरियो (Misereor) जर्मनीको सहयोग तथा जिल्ला समन्वय समिति पाँचथरको सहकार्यमा "मर्यादा सुनिश्चितताका लागि ऐक्यबद्धता: स्थानीय तहमा नीतिगत सचेतना मार्फत विभेद विरुद्धको सामूहिक प्रयास" परियोजना अन्तर्गत आयोजित दुई दिवसीय जिल्लास्तरीय संयुक्त कार्यशालापछि उक्त घोषणापत्र जारी गरिएको हो।

 

कार्यशालामा पाँचथर जिल्लाका जनप्रतिनिधि, राजनीतिक दल, प्रशासन, प्रहरी, नागरिक समाज तथा दलित अधिकारकर्मीहरू सम्मिलित छलफलले जिल्लाका सबै ८ वटै स्थानीय तहमा आगामी आर्थिक वर्षभित्र 'स्थानीय दलित अधिकार ऐन' जारी गर्ने, दलित अधिकार समिति गठन गर्ने र सबै विशिष्टिकृत समुदायका लागि स्थानीय मानव अधिकार डेस्क स्थापना गर्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन्।

यसका साथै घोषणापत्रले वस्तुनिष्ठ र प्रमाणमा आधारित योजना तर्जुमाका लागि सबै पालिकामा विस्तृत दलित प्रोफाइल, रणनैतिक योजना तयार गर्ने लगायतका कार्ययोजना तय गरेको छ ।

मानव अधिकार मञ्च नेपालका अध्यक्ष मोहनसिंह थेवेको अध्यक्षतामा सम्पन्न उक्त कार्यशालाको उद्घाटन सत्रमा कोशी प्रदेशसभा सदस्य माननीय मैयाँ श्रेष्ठ लावतीको आतिथ्यता तथा विशेष मन्तव्य रहेको थियो। त्यसैगरी समापन सत्रमा संविधानसभा सदस्य माननीय अइन्द्र सुन्दर नेम्वाङको आतिथ्यता तथा मन्तव्य रहेको थियो।

कार्यक्रममा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बे, विभिन्न पालिकाका उपाध्यक्षहरू, वडाध्यक्ष, कार्यपालिका सदस्य, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राजनीतिक दलका नेतृत्व, बार एशोसिएसन, निजी क्षेत्र, गैरसरकारी संस्था, सञ्चारकर्मी तथा दलित अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले छुवाछूत केवल दलितको मात्र नभई सिङ्गो समाजको साझा समस्या भएको ठहर गर्दै यसको अन्त्यका लागि स्थानीय सरकारहरू नीतिगत, संरचनागत र बजेटरी रूपमै उत्तरदायी हुनुपर्नेमा जोड दिएका थिए।

कार्याशालाको सहजीकरण विषय विज्ञ कर्ण बहादुर नेपाली, मोहन सिंह थेवे, देवेन्द्र विश्वाकर्मा र मन कुमार बराइलीले गरेका थिए । कार्यक्रमको सञ्चालन मञ्चका सुरेश पोर्तेलले गरेका थिए ।