बिहीबार-श्रावण-१४-२०८३|Thursday-July-2026

दलित समुदायका सवाल पहिचान सम्बन्धी स्थानीय जनप्रतिनिधिसँगको कार्याशाला सम्पन्न

ताप्लेजुङ, १५ वैशाख २०८३

ताप्लेजुङ जिल्लाका स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग दलित समुदायका समस्या पहिचान सम्बन्धी कार्याशाला सम्पन्न भएको छ ।जिल्ला सदरमुकाम फुङलिङमा  आयोजित श्रृंखलावद्ध कार्यक्रमको समापनका अवसरमा जनप्रतिनिधिहरूले समाजमा छुवाछुत विद्यमान रहेको र यसलाइ अन्त्य गर्न स्थानीय सरकारले योजनावद्ध रुपमा लाग्ने बताएका छन् ।

जिल्लाका स्थानीय सरकारका प्रमुख, उपप्रमुख तथा अन्य जनप्रतिनिधिहरूसँग भएको विशेष छलफलमा उनीहरूले दलित समुदायको अधिकारका लागि स्थानीय कानून निर्माण गरेर काम गर्ने बताएका छन् । सहभागी जनप्रतिनिधिहरूले आगामी दिनमा आफ्ना नीति तथा कार्यक्रममा दलित समुदायको सवाललाई प्राथमिकता दिने गरी कार्ययोजना निर्माण गरेका छन् ।

 मिजेरियो जर्मनीको सहयोगमा मानव अधिकार मञ्च नेपालको आयोजना र जिल्ला समन्वय समिति ताप्लेजुङको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो। "मर्यादा सुनिश्चितताका लागि ऐक्यवद्धता: स्थानीय तहमा नीतिगत सचेतना मार्फत विभेद विरुद्धको सामूहिक प्रयास" परियोजना अन्तर्गत यी कार्यक्रमहरू सञ्चालन भएका हुन्। कार्यक्रम मानव अधिकार मञ्च नेपालका कार्यकारी निर्देशक  देवेन्द्र विश्वाकर्माको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमको आवश्यकता र औचित्यबारे मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सहजीकरण भक्त बहादुर थामीले गर्नुभयो । कार्यक्रमा दलित अधिकारको सम्बन्धमा विद्यमान राष्ट्रिय, अन्तराष्ट्रिय व्यवस्था र दलित समुदायको विद्यमान अवस्थाबारेमा मनकुमार बराइलीले प्रस्तुत गर्नुभयो भने सञ्चालन सुरेश पोर्तेलले गर्नुभयो  ।