ताप्लेजुङ, बैशाख १३, २०८३
दलित समुदायले भोग्दै आएका प्रमुख समस्या र चुनौतीहरू पहिचान गर्ने उद्देश्यका साथ ताप्लेजुङमा आज एक कार्यशाला सम्पन्न भएको छ। उक्त कार्यक्रममा जिल्लाभरका दलित अधिकारकर्मी तथा नेतृत्वहरूको सहभागिता रहेको थियो, कार्यक्रममा रणनीतिक पैरवी र सामाजिक न्यायका विषयमा सघन छलफल गरिएको थियो। कार्यक्रमको अध्यक्षता मानव अधिकार मञ्च नेपालका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माको अध्यक्षता र जिल्ला समन्वय समिति ताप्लेजुङका उपप्रमुख कृष्ण प्रसाद लिङखिमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यशालाको सहजीकरण भक्त बहादुर थामीले गर्नुभएको थियो।

यो कार्यक्रम मिजेरियो जर्मनी (Misereor Germany) को सहयोग र जिल्ला समन्वय समिति ताप्लेजुङसँगको समन्वयमा मानव अधिकार मञ्च नेपाल द्वारा आयोजना गरिएको हो। यो कार्यशाला "मर्यादा सुनिश्चितताका लागि ऐक्यवद्धता: स्थानीय तहमा नीतिगत सचेतना मार्फत जातीय विभेद विरुद्धको सामूहिक प्रयास" नामक परियोजना अन्तर्गत सञ्चालन गरिएको हो।